AK Learning Nepal

  Thursday 16 October 2025 / 01:43 PM

हाम्रो संस्कृति

हाम्रो देश नेपाल प्राकृतिक सौन्दर्यका साथै विविध संस्कृति, भाषा, धर्म र परम्पराले भरिएको देश हो। यही विविधताले नेपाललाई संसारभर विशेष पहिचान दिएको छ। नेपालमा विभिन्न जात, धर्म, र समुदायका मानिसहरू बसोबास गर्छन्। सबैले आफ्ना परम्परा र संस्कार अनुसार चल्ने हुँदा यहाँको संस्कृति निकै रंगीन र समृद्ध बनेको छ।

हाम्रो संस्कृतिको सुरुवात परिवार र समाजबाट हुन्छ। जन्मदेखि मृत्यु सम्म विभिन्न संस्कारहरू जस्तै नामकरण, पास्नी, ब्रतबन्ध, विवाह र श्राद्ध आदि पालना गरिन्छ। यी सबै संस्कारहरूले मानिसबीच आपसी सम्बन्ध, प्रेम र सहयोगको भावना जगाउँछन्। हामी नेपालीहरू बडादशैं, तिहार, होली, माघे सङ्क्रान्ति, उधौली–उभौली, ल्होछार, छठ जस्ता पर्वहरू उत्साहपूर्वक मनाउँछौं। यी पर्वहरूले धार्मिक, सामाजिक र सांस्कृतिक एकतालाई अझ मजबुत बनाउँछन्।

संस्कृति भनेको केवल पर्व मनाउने कुरा मात्र होइन, यो हाम्रो चालचलन, बोलिचाली, लवस्त्र, खाना, रहनसहन र सोच्ने तरिका समेत हो। हाम्रो परम्परागत नाच–गान, लोकगीत, लोकनृत्य, भजन, कथा–कविता र लोककला पनि हाम्रो संस्कृतिको महत्त्वपूर्ण हिस्सा हुन्। ढाका टोपी, दौरा–सुरुवाल, गुन्यु–चोली, पछ्यौरा जस्ता भेषभूषाले पनि नेपाली पहिचान झल्काउँछ।

हाम्रो संस्कृति हामीलाई अनुशासित, सभ्य र नैतिक बन्न सिकाउँछ। यसले आपसी सद्भाव, सहिष्णुता र सहयोगको भावना फैलाउँछ। आधुनिकतासँगै केही परम्परागत संस्कारहरू बिस्तारै हराउँदै गइरहेका छन्। त्यसैले हामी सबैको कर्तव्य हो कि आफ्ना संस्कार र परम्परालाई जोगाई आगामी पुस्तालाई हस्तान्तरण गरौं।

यसरी हेर्दा, हाम्रो संस्कृति हाम्रो गौरव र पहिचान हो। यसले हाम्रो इतिहास, मूल्य, र जीवनशैली प्रतिबिम्बित गर्छ। त्यसैले हामी सबैले आफ्नो संस्कृति माया गर्नुपर्छ, पालन गर्नुपर्छ र विश्वभर नेपाली पहिचान जोगाइराख्न योगदान पुर्‍याउनुपर्छ।

Leave a Reply

Scroll to Top